प्राध्यापक कहिले पनि निवृत्त हुँदैन – कुमार कोइराला


हरेकपल March 13, 2020

समालोचक, अनुसन्धाता तथा लेखकका रूपमा परिचित कुमार कोइरालाको जन्म वि.सं. २०१३ साल वैशाख १३ गते ओखलढुङ्गाको छहरेमा भएको हो । साहित्यमा औपचारिक प्रवेश भने चालीसको दशकको आरम्भतिर ‘गरिमा’ साहित्यिक पत्रिकामा सडक नाटक सम्बन्धी समालोचना प्रकाशन गरेर भयो । त्यस समयदेखि अहिलेसम्म अर्थात् साढे तीन दशकदेखि उहाँ निरन्तर लेखनमा समर्पित हुनुहुन्छ । हालसम्म उहाँका एकल र सहलेखन गरेर एक दर्जनभन्दा बढी कृति प्रकाशन भएका छन् । यस्ता सक्रिय, सचेत र सिर्जनशील व्यक्तित्वको जीवनचर्या कस्तो छ त ? पहिला हामी त्यो बुझौँ ।

स्वास्थ्यप्रति सचेत कोइराला बिहान एक–डेढ घण्टा नित्य पढ्नुहुन्छ र एक–डेढ घण्टा प्रातः भ्रमणमा निस्कनुहुन्छ । उहाँको समय प्रायः लेख्ने र पढ्ने काममै व्यतीत हुन्छ । फुर्सदको समयमा भने फिल्म हेर्ने र गीत सुन्ने बानी छ । पाककलामा पनि निकै रुचि छ । जहाँ मन लाग्यो, त्यहीँ अध्ययन गर्ने स्वभावका कारण उहाँको घरमा जताततै किताब भेटिन्छन् । उहाँको अध्ययन कक्ष यही मात्र हो भन्ने छैन । लेखनका लागि भने उहाँ प्रायः कम्युटर र प्रिन्टर भएको कक्षको प्रयोग गर्नुहुन्छ । प्राध्यापन पेसाबाट सेवानिवृत्त भए पनि उहाँको सक्रियतामा भने कुनै कमी आएको छैन । मात्र बिहान–बेलुका हाजिर गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

अध्ययनलाई योग सम्झने, निरन्तर लेखनमा सक्रिय रहन मन पराउने उहाँलाई सधैँ यस्तै हँसिलो, मिजासिलो, सहयोगी, सिर्जनशील र उर्जावान् देख्न पाइरहूँ – हरेकपल डट कमको तर्फबाट यही शुभकामना ।

भिडियो हेर्नुहोस्