प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज


हरेकपल March 13, 2020

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज हुनुभएको हो । शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गरिएको बताउनुभयो । यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।