कोरोनाविरुद्ध सार्क राष्ट्र एक भएर लड्न मोदीको प्रस्ताव, ओलीको जवाफ- मिलेर काम गर्न तयार छौँ


हरेकपल March 13, 2020

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणविरुद्ध सार्क राष्ट्र एक भएर लड्न गरेको प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

मोदीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए । 

मोदीले सार्क राष्ट्रहरुले कोरोना भाइरसविरुद्ध सँगै लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका थिए । उनले यसका लागि कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका थिए ।

मोदीको प्रस्तावको स्वागत गर्दै शुक्रबार दिउँसो ट्विटमार्फत प्रधानमन्त्री ओलीले त्यसका लागि नेपाल तयार रहेको बताएका हुन् । 

प्रधानमन्त्रीको ट्विटमा भनिएको छ – कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको नेतृत्वले  बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरुद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।

प्रधानमन्त्री ओलीले अस्पतालबाटै मोदीको प्रस्तावको जवाफ लेखेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाएका थिए ।

हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । नेपालसँगै सार्कमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् ।