सामाजिक काममा समय दिन नसकेको कारण दर्साउँदै बिल गेट्सले छाडे माइक्रोसफ्ट कम्पनी


हरेकपल March 14, 2020

काठमाडौं, १ चैत । माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर पदबाट बिल गेट्सले राजीनामा गरेका छन् । कम्पनीका सहसंस्थापकसमेत रहेका गेट्सले सामाजिक काममा समय दिन नसकेको कारण दर्साउँदै राजीनामा दिएका हुन् ।

उनले वैश्विक स्वास्थ्य, शिक्षा र जलवायु परिर्वतनजस्ता सामाजिक काममा अधिक ध्यान दिन चाहेको बताएका छन् । तर, कम्पनीको सल्लाहकारका रुपमा काम गरिरहने उनले बताएका छन् । सो कम्पनी आफ्ना लागि महत्वपूर्ण रहने बताउँदै उनले आगामी दिनमा सिइओ सत्या नडेला र अन्य अधिकारीले राम्ररी कार्यसम्पादन गर्ने विश्वास लिएका छन् ।

लामो समयसम्म विश्वको एक नम्बर धनी व्यक्तिमा सूचीकृत भएका उनले पत्नी मिलिन्डासँग मिलेर बिल एण्डन मिलिन्डा गेट्स फाउण्डसेन नामक संस्था स्थापना गरेका छन् । सन् २००० खुलेको सो संस्थाले सामाजिक काम गर्दै आएको छ ।

गेट्स हाल विश्वका दोस्रो धनी व्यक्तिमा पर्छन् । २०२०को फोब्र्सको सूचीअनुसार अमेजानका सिइओ जेफ बेजोस संसारकै पहिले धनीमा दरिएका छन् । उनको सम्पत्ति ११० अर्ब डलरभन्दा बढी छ भने बिल गेट्ससँग १०३ अर्ब डलर सम्पत्ति रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।