काठमाडौं, १ चैत । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर शुक्रबार शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीलाई दाहालले शनिबार बिहान भेट गरेका थिए । आधा घण्टाको भेटघाटमा उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । शनिबारै दिउँसो नेता माधव कुमार नेपालले पनि प्रधानमन्त्रीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण भेटवार्तामा राजनीतिक विषयमा भने खासै कुराकानी नभएको बताइएको छ ।
प्रधानमन्त्री ओली अहिले चिकित्सकको पूर्ण निगरानीमा सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् । डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट सुरु गरेका हुन् ।