सार्क नेताबीच आज भिडियो कन्फरेन्स, कोरोनाविरुद्ध साझा रणनीति


हरेकपल March 15, 2020

काठमाडौं, २ चैत । सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको हो ।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ।

कन्फरेन्सको हब दिल्ली भए पनि नेपाल अध्यक्ष हुनाले पनि भूमिका निर्वाह गर्ने परराष्ट्र सचिव शंकरदास बैरागीले बताए । सम्मेलनमा सबै सदस्य मुलुकबाट राजनीतिक नेतृत्व सहभागी हुनेछन्। सार्क क्षेत्रमै कोरोना भाइरस संक्रमण बढेपछि भारतको प्रस्तावमा नेपालले अध्यक्षको नाताले यसको व्यवस्थापन र छलफल अघि बढाएको हो।

कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन्।